मंसिर ५ गते साँझ धेरै जसो मिडियाहरुमा एउटा समाचार आइरहेको थियो जस्ले धेरैलाई असमञ्जस्य बनायो होला तर मलाई भने भित्रैसम्म क्षतविक्षत बनायो । समाचार थियो – सडक सुरक्षा हेतु राखिएका बत्तिहरु २ महिनामै बिग्रिए र ती बत्तिहरुमा अहिले पँहेलो बत्ति मात्र बल्ने गर्छ । म आफु सडक दुर्घटनामा २÷२ जना जवान छोराहरु गुमाएको बाबु भएकाले होला त्यो महाअपराध प्रति अति नै घृणा भयो, त्यो निकृष्ट कर्मप्रति अत्यन्तै क्रोध जाग्यो । केही बेरमा शान्त त भएँ तर ती निकृष्ट आत्मा भएका अमानवप्रति दया जागेर आयो ।
तिनले जघन्य अपराध गरेका छन् । अरुको ज्यानको वास्ता नगरे पनि यिनै बाटाहरुमा तिनीहरु आफैं वा तिनका सन्तान पनि त यात्रा गर्छन् भन्ने कुरा सोच्नुपर्ने होइन र ? सडक मार्गमा सुरक्षा संयन्त्र खडा गर्ने काममा तिनले जुन भ्रष्टाचार गरेका छन्, के त्यो खतरा तिनीहरुका नातागोता र आफन्त बाहेककालाई मात्र होला त ? के तिनका सन्तान चाँहि छानिएर सुरक्षित होलान् त ? अवश्य हुनेछैनन् । एउटा कुरा मैले यहाँ सबै सामु भन्नैपर्ने हुन्छ कि आफन्तलाई अल्पायुमै गुमाउनुको पीडा असहनीय हुन्छ । म आफुले सडक दुर्घटनामा २ जना अत्यन्तै दिग्गज तथा जवान छोराहरु गुमाईसकेको छु ।
सन्तान गुमाउनुको असहनीय पीडा छातीबाट छचल्किँदै सधैंभरि आँखाबाट बगिरहन्छ । विगतमा उनीहरुसँग बिताएका पल, उनीहरुले हासिल गरेका सफलताको फल शुन्य भयो । उनीहरुले प्राप्त गरेका सम्मानहरु आज उनीहरुकै सम्झनामा स्थापित लक्ष्मी प्रतिष्ठानका भित्तामा सजिनमै सिमित भए । यतिखेर प्रतिष्ठानमार्फत् हामीहरु उनीहरुसँग बिछोडिनुको तिर्सना मेटाउन यहाँ रहेका धेरै दीन–दुःखी, बाबा आमाहरु, दिदी बहिनीहरु र छोराछोरीहरुको हितमा काम गर्दैछौं । सन्तान गुमाएर पनि हामी संवेदनशील छौं र अझै जिम्मेवार भएका छौं ।
कसैले आफ्ना सन्तान सडक दुर्घटनामा गुमाउनु नपरोस् भनेर दुर्घटना न्युनिकरणका लागि विभिन्न कर्मद्वारा अहोरात्र खटिईरहेका छौं । सडक दुर्घटना न्युनिकरणका लागि शुरुमा सडकका धमिला रोड डिभाइडर चम्काउने कार्यबाट शुरु गरिएको अभियान विभिन्न कलेजहरुमा चेतनामुखि कक्षा संचालन गर्दै अहिलेसम्म आईपुग्दा मजदुरमा देखिएका कमजोरी सुधार्न नेपालका ७ जिल्लाबाट १००० जना महिलाहरुलाई सशक्तिकरण समेत गराउँदै दक्ष सवारी चालक बनाई सडकमा उतार्ने तयारीमा छौं । हामीलाई केही खुशि पनि लागेको छ किनभने यो अभियान संभवतसन्तान गुमाएका बाबुआमाद्वारा थालिएको संसारको पहिलो प्रयोग हुन सक्छ ।
हाम्रो आशय भनेको हाम्रा छोराहरुले जसरी सडकमा कसैका छोराछोरीले ज्यान गुमाउनु नपरोस् भन्ने नै हो । जघन्य अपराध गरेका भ्रष्टाचारी नै भए पनि तिनले हामीले जस्तो पीडा नपाउन, गल्ति गर्नेलाई राज्यले दण्ड दिनुपर्छ । त्यसका लागि खुकुला कानूनहरु कसिनुपर्छ र अपुग छ भने नयाँ कानून थपिनुपर्छ । मेरा कुरा कसैलाई अप्रिय लाग्न सक्छन्, कसैलाई बिझाउन सक्छन् । तर हामीले भोगेको कटृ यर्थाथ यहि हो । पक्कै पनि याहाँ धेरै राम्रा नेताहरु, कर्मचारीहरु र जिम्मेवार व्यक्तिहरु हुनुहुन्छ । उहाँहरु हामी आम जनताका नजरमा सधैं श्रद्धेय हुनुहुनेछ तर तपाईहरुलाई अनुरोध गर्दछु – तपाईहरुका भिडमा लुकेर बेलाबेलामा जनता, समाज र देशलाई लुट्नेहरुलाई तपाईहरुले नङ्गयाउनै पर्छ । त्यो सडक बत्तिको मोल कति पर्छ मलाई थाहा छैन । तर अवश्य पनि केही रकमको लालचमा कमजोर तथा गुणस्तरहीन सस्तामस्ता बत्ति जडान गरी रकम हिनामिना गरेको बुझिन्छ किनकि गुणस्तरीय सामान भए यत्ति कमजोर पक्कै पनि हुने थिएनन् ।
यो अपराध गर्नुपूर्व उनीहरुसँग अरुको नभए पनि आफ्ना सन्तानहरुको त ख्याल हुनुपर्ने होइन र ? पहेंलो बत्ति बलिरहनु भनेको त यात्रीहरुलाई सधैं अलर्ट राख्न खोज्नु, आतंकित पारिनु हैन ? के अरुलाई आतंकित पार्नेहरु आतंककारी होइनन् ? तर यहाँ कसले बुझ्ने ? किनकि अधिकांश जिम्मेवार निकायहरुमा कस्ता कस्ता कुकर्महरु (लेनदेन) भैरहेका छन्, हामी सबै बाफिक भैसकेका छौं । दिनभर आफुले सकेसम्म सोहोरेर फुर्सदमा आफ्ना साथीहरुसँग सुशासनको डाँक हाँक्नेहरु अब त चेत ! थाहा छ तिमीहरुलाई – के गरिरहेका छौ ? आज तिम्रा सन्तानको भविष्यका लागि भनेर गरिएका कुकर्महरुले गर्दा भोलीका दिन तिनै सन्तानले के अरुको अगाडि मेरा अभिभावकप्रति गर्व छ भनेर शिर उचो राख्न सक्लान् त ? अवश्य सक्दैनन् । त्यति मात्र नभै आज यहाँ मौलाएको भ्रष्टाचारकै कारण देशमा रोजगारीका माध्यमहरु समाप्त हुँदै गएका छन् र त्यसको परिणाम एक छाक खानका लागि मान्छेहरुले जानाजानी आत्मा बेचिरहेका छन् ।
भ्रष्टाचारमै लिप्त भएका कारण अपराध मौलाउँदै गैरहेको छ । कडा श्रम गरेर खाने तर आत्मा बेच्न नचाहने धेरैजसो युवाहरु मरुभुमिमा रापिइरहेका छन् । तिनीहरुलाई कार्यरत देशमा समेत रोजगारदाताहरुबाट धेरै दुव्र्यवहार गरिन्छ । तर पनि उनीहरुका सामु आफुमाथिको अपमान सहेर छचल्किएका आँशु पिउनु र काम गर्नुको विकल्प छैन । हाम्रो आफ्नै देशमा रोजगारीको लागि विशेषतः पर्यटन, कृषि तथा पशुपालन, फलफुल खेती आदिको माध्यमले करोडौंलाई रोजगार बनाउन सक्ने श्रोत छ । आफ्नै छुट्टै जातिय, धार्मिक, साँस्कृतिक पहिचान छ । सम्पदाको भण्डार छ । विश्वमै हिमाल, तराई, पहाड समाहित राष्ट्र हुनुको गौरब छ ।
सदभाव र सहिष्णुता सम्पन्न छ । यसबाटै देशलाई सम्मुन्नतिको शिखरमा चढ्न सक्ने माध्यम छ । विश्वमै उत्कृष्ट मानिएका १४ उच्च हिमालमध्ये ९ वटा नेपालमै पर्छन् । यो पनि अर्को गौरव हो । साहसिक यात्रा गर्नेहरुका लागि माउन्टेनरिङ्ग, ¥याफ्टिङ्ग, बन्जी जम्पिङ्ग, रक क्लाईम्बिङ्ग देखी आधुनिक उपलब्धिका रुपमा माउण्टेन फ्लाइट, प्याराग्लाईडिङ्गको पनि नेपालमा विकास हुँदै गईरहेको छ । त्यसैले अब यथाशिघ्र विकृतिहरु पखाल्दै पर्यटन विकासको लागि समय र स्थान सापेक्ष विशिष्ट गुरु योजना बनाउनु र लागु गर्नु जरुरि छ जुन केही ठूला होटल र सिमित ठाउँहरुलाई मात्र समेटेर बनाउनु हुन्न ।
योजना बनाउँदा देशका कुनाकन्दरा जग्मगाउने गरी सबै ठाउँलाई र सबै किसिमका सम्पदा, संस्कृतिलाई समेटेर बनाउनु पर्नेछ । यसो भएमा तेश्रो विश्व लगायत उत्तर र दक्षिण रहेका छिमेकीहरुलाई भ्रमण गराई बर्षेनी खरबौं डलर भित्राउन सकिन्छ । यसका लागि राष्ट्रिय भावनाले ओतप्रोत भै राष्ट्रिय स्वार्थका लागि काम गर्नुपर्छ । अहिले खट्केको कुरा त्यही नै हो । दशक अगाडि हाम्रो भन्दा नाजुक अवस्था रहेको भुटान, विश्वको एउटा मात्र अग्र्यानिक राष्ट्र हुन सफल भएको छ र यसैको आधारमा विदेशीहरुले भुटान टेक्न मात्रै २००० डलर नजरना तिर्नुपर्छ भने त्यहाँ घुम्दा प्रत्येक दिन १०० अमेरिकी डलर खर्च गर्नुपर्ने व्यवस्था छ ।
त्यहाँ बेचिने प्रत्येक ह्याण्डिक्राफ्टको न्युनतम मूल्य तोकेरै राखिएको हुन्छ । अर्गानिक राष्ट्र भएकाले विशुद्ध खाद्यहरु खाँदा पनि राम्रो मूल्य तिर्नुपर्छ । थोरै समयभित्रै आफ्नो श्रोतलाई प्रयोग गरी उत्पादन गरिएको विद्युत सप्लाईबाट बर्षेनि अरबौं आर्जन गरीरहेको छ । त्यसैले त छोटो समयमा नै दक्षिण यशियाको सबैभन्दा गरिब देश रहेको भुटानको पर क्यापिटा ईन्कम ६५०० अमेरिकी डलर भन्दा बढि बनाउन सफल भई यस क्षेत्रकै धनी देश बनेको छ । यो उनीहरुले आफ्नै भौगोलिक शैलिमा स्थापित गरेको पर्यटन योजना भएकाले सफलता मिलेको हो ।
यतिखेर नेपालमा पनि १० लाख प्रति किलो पर्ने यार्सागुम्बा केही ठाउँमा संकलित भए पनि कति ठाउँका जनताले त्यसलाई चिनेकै छैनन् । यसका अलावा पनि पाँच आंैले जटामसी, चन्दन, रुद«ाक्ष लगायतका सयौं थरी जडिबुटि र अन्य उत्पादनहरु छन् जसबाट मनग्गे विदेशी मुद«ा समेत आर्जन गर्न सकिन्छ । तर ती चिजहरु गाउँ गाउँमा त्यसै खेर गैरहेका छन् । जापानले समेत आयात गरी त्यहाँको मुद«ा बनाउने लोकताको नाम धेरै जनाताले सुनेकै छैनन् । भौगोलिक हिसाबले विश्वकै हावा, पानी र वातावरण पाइने नेपालमा संसारका धेरै देशमा उत्पादन हुने चिजहरु फलाउन सकिन्छ । यसका लागि गाई बस्तुलाई हाल्ने सोत्तरमा छरिएका हिरा देखाउने योजना सरोकारवालाहरुसँग हुनुपर्छ । तर यहाँ त हिरालाई नै सोत्तर बनाउने प्रबृत्ति हाबी छ ।
जलविद्युतको अथाह श्रोत भएको नेपालमा सधैं जनताले लोडसेडिङ्गको अँध्यारो खेप्नुपर्ने बाध्यताबाट अब मुक्ति पाउनुपर्छ । झोलामा खोला राखेर हिंड्नेहरु बाट फेरि खोलाको स्वामित्व खोसेर साँच्चै नै विद्युत निकाल्ने जलविद्युत परियोजनाहरु लागू हुनुपर्छ । सधैं भारतबाट यति र उति मेघावाट विजुली किन्छौं भन्नु बेकार छ । वास्तवमा अन्तबाट किन्नुपर्ने आवश्यकता पनि छैन । मान्छेले हावाबाट त विजुलि निकालिरहेकाछन् भने हामीसँग त प्रशस्त पानी नै छ ।
हाम्रा पानीबाट निकालिएको बिजुलिले नै अब हाम्रा घरहरु उज्यालिनुपर्छ । यसकारण राजनितिज्ञहरुले सहमतिको रटान हैन साँच्चै सहमति नै गरेर देशमा विधिको शासन शुरु गर्नुपर्छ । राष्ट्र सेवक, कर्मचारी तथा आम जनता मिलेर देशलाई सम्बृद्ध बनाउन कम्मर कसेर लाग्नुपर्छ । अब सबैले उदार हृदयले समाज र देशलाई लाभ हुने काम गर्दै जानुपर्छ । तब मात्र हाम्रा सन्ततिले भोलिका दिन हाम्रा अभिभावक यस्ता हुनुहुन्थ्यो भनेर गर्व गर्न सक्नेछन् ।














0 comments