१३ मंसिर, काठमाडौं । मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार राजनीतिमा असाध्यै महत्वाकांक्षा बोकेका व्यक्ति मानिनुहुन्छ । तर, यसपटक उहाँले प्रधानमन्त्रीको दौडमा पर्न सक्ने सम्भावना रहे पनि मधेसी मोर्चालाई सरकारको नेतृत्व चाहिन्छ भनेर खुलेर माग गर्नुभएको छैन । महन्थ ठाकुरको नाम प्रधानमन्त्रीमा चर्चामा आइसक्दा पनि मोर्चाका संयोजक गच्छदारले मधेसीको नेतृत्वका लागि खुलेर लबिङ गर्नुभएको छैन ।
एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्रीका चार सम्भावित उमेद्वारको नाम लिँदा गच्छदारलाई तेस्रो नम्बरमा राख्नुभएको छ । तर, गच्छदार आफैंले चाँहि मधेसी मोर्चालाई सरकारको नेतृत्व माग्नुको साटो सुशील कोइराला प्रधानमन्त्री बने आफू खुशी हुने बताइरहनुभएको छ । गच्छदारले मधेसीलाई प्रधानमन्त्री चाहिन्छ भनेर सावर्जनिक अभिव्यक्ति नदिनुको कारण रहस्यमय छ ।
गच्छदार संयोजक रहेको मधेसी मोर्चामा ५ वटा दलहरु रहेका छन् । गच्छदार अध्यक्ष रहेको फोरम लोकतान्त्रिक, महन्थ ठाकुरको तमलोपा, राजेन्द्र महतोको नेपाल सद्भावना, राजकिशोर यादवको गणतान्त्रिक फोरम र महेन्द्र राय यादवको तमलोपा नेपाल मधेसी मोर्चाका घटक दलहरु हुन् । मोर्चाको बैठक डाकेर प्रधानमन्त्रीको नाम छान्नुपर्यो भने महन्थ ठाकुरको पक्षमा सर्वसम्मत निर्णय हुने र गच्छदारको पक्षमा कसैले साथ नदिने स्रोत बताउँछ ।
‘गच्छदारले अनिल झालाई उचालेर सद्भावना फुटाउनु भो, महेन्द्र रायलाई भड्काएर तमलोपा फुटाउनुभो, गणतान्त्रिक फोरममा पनि नन्दनकुमार दत्त र राजकिशोर यादववीच झगडा चर्काउनुभयो, त्यसैले मोर्चाका सबै नेता गच्छदारसँग रिसाएका छन् ।’ -स्रोतले अनलाइनखबरसित भन्यो, ‘ठाकुरका नाममा सर्वसम्मत हुन्छ, गच्छदारजी मोर्चामा अल्पमतमा पर्नुहुन्छ ।’
मोर्चामा आफू अल्पमतमा पर्ने र महन्थको नाम छनौट हुने देखेपछि गच्छदारले मधेसी प्रधानमन्त्रीको लविङ छाडेर सुशील कोइरालाको पक्षमा वकालत गरेको दाबी गर्छन् मधेसी नेताहरु । तर, आफैं प्रधानमन्त्री बन्ने गच्छदारको इच्छा नै छैन भन्न नमिल्ने उनीहरुको तर्क छ । तैपनि मधेसी मोर्चाका नेता ठाकुरको पक्षमा वकालत गर्न छाडेर कांग्रेसतिर ढल्केकोमा मधेसी दलहरु वहाँसँग सन्तुष्ट नरहेको स्रोत बताउँछ ।
भण्डारी महन्थ ठाकुरको पक्षमा
विजयकुमार गच्छदारबाट अलग भई पार्टी खोलेका शरदसिंह भण्डारीले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने सार्वजनिक वकालत गरेका छन् । आफ्नो प्रतिद्वन्दी भण्डारीले ठाकुरको नाममा वकालत गरेका कारणले पनि गच्छदारले ठाकुरलाई प्रधानमन्त्री बनाउन नचाहेको एकथरि मधेसी नेताको विश्लेषण छ ।
गच्छदारलाई, उपेन्द्रले काउन्टर गर्ने
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने भण्डारीजसरी महन्थ ठाकुरको समर्थनमा बोलेका छैनन् । तर, गच्छदार प्रधानमन्त्री हुने अवस्था आए उपेन्द्र यादव र शरदसिंह दुबैले विरोध गर्ने योजना बनाएको स्रोत बताउँछ ।प्रधानमन्त्रीका लागि एकीकृत माओवादी अध्यक्ष प्रचण्डले विजयकुमार गच्छदारको नामसमेत चर्चामा ल्याएपछि उपेन्द्र यादव समुह सतर्क भएको छ । ‘एमाओवादीको समर्थनमा गच्छदारको नाम आयो भने हामी नेपाली कांग्रेसको समर्थनमा उपेन्द्र यादवलाई अघि सार्छौँ ।’- फोरमका एक नेताले अनलाइनखबरसित भने ।
गच्छदार संयोजक रहेको मधेसी मोर्चा बाहिर यादव र भण्डारीको पार्टीबाहेक अरु पनि मधेसी दल रहेका छन् । अनिल झाको संघीय सद्भावना, सरिता गिरीको नेपाल सद्भावना (आ) र रामनरेश रायको राष्ट्रिय सद्भावना पार्टी गच्छदारको मधेसी मोर्चा भन्दा बाहिर छन् । यिनीहरु कांग्रेस, एमाले नेतृत्वको विपक्षी दलको मोर्चामा समेत छैनन् ।














0 comments