Media Partner

You Are Here: Home» लेख_विचार , समाचार » बौद्ध रेलिगेसनमा पर्ने पहिलो टोली

काठमाडौं, पुस २७ (नागरिक)- बौद्धका प्रशिक्षक किरण श्रेष्ठले टोली रेलिगेसनमा पर्नुलाई खेलको एक हिस्साका रूपमा लिए। जारी सहिद स्मारक ए डिभिजन लिगमा एनएमबी मछिन्द्र क्लबसँग बिहीबार ३-० ले पराजित भएपछि बौद्ध तीन खेलअगाडि रेलिगेसनमा पर्ने पहिलो टोली बन्यो।
प्रशिक्षक श्रेष्ठले भने, 'बी बाट ए डिभिजनमा उक्लनु एउटा पाटो हो। रेलिगेसन पर्नु दुःखद पक्ष हो तर यसलाई हामीले सहज रूपमा लिनुपर्छ। व्यवस्थापन राम्रो हुन नसक्दा रेलिगेसनमा परियो। अर्को वर्ष फेरि बी डिभिजनमा मेहनत गरेर उक्लने प्रयास गर्नेछौं।'
क्लबको व्यवस्थापनले अब अर्को वर्ष राम्रो तयारी गरेर ए डिभिजनमा उक्लने सोच बनाएको छ। उनले थपे, 'लिगमा हामीले नराम्रो फुटबल खेलेको होइनौं। हरेक खेलाडीले क्षमताअनुसार खेले, अन्य टिममा विदेशी खेलाडी छन्। उनीहरूका कारण लिग प्रतिस्पर्धात्मक भएको छ। क्लबले विदेशी ल्याउन सकेन। अब हामी आगामी खेलहरू प्रतिष्ठाका लागि खेल्नेछांै।'
६ वर्षअघि बौद्धले ए डिभिजन फुटबल यात्रा तय गरेको थियो। दोस्रो पटक ए डिभिजन यात्रामा पनि बौद्ध लामो समय टिक्न सकेन। २०६२ मा पहिलोपटक ए डिभिजनमा उक्लेको बौद्ध सोही वर्ष झरेको थियो। २०६५ सालमा नेपाल फुटबल संघले गरेको लिगबाट बढुवा भएर बौद्धले ए डिभिजन खेल्ने अवसर पायो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको २०६६ र २०६७ सालको लिग बौद्धले खेल्न पाएको थिएन। त्यसपछि २०६८ सालको लिगमा प्रभावशाली प्रदर्शन गर्दै टोलीले सुपर 'एट' सम्म चुनौती तेर्स्याएको थियो।
बौद्धलाई हराएपछि मछिन्द्र १२ खेल समाप्तिमा अंकतालिकाको दोस्रो स्थान उक्लियो। थ्रीस्टार र मछिन्द्रको समान २६ अंक छ। गोलअन्तरमा थ्रीस्टार शीर्ष स्थानमा छ। मछिन्द्र र थ्रीस्टारले १-१ को बराबरी खेलेका थिए। बौद्धले १२ खेलमा १ बराबरी खेल्दै मात्र १ अंक जोडेको छ। फ्रेन्डससँग बराबरी गरेको बौद्ध लिगको १६औं स्थान (अन्तिम) मा छ।
बिहीबार विक्रम लिम्बुले पोस्ट नजिक सटिक पास मिलाइदिएपछि विशाल राई 'ए' ले ४०औं मिनेटमा मछिन्द्रका लागि पहिलो गोल गरे। ८०औं मिनेटमा कप्तान दीपक राईले विशाल राई 'ए' को पासमा गोल थपे। दीपकले बौद्धका तीन रक्षक सहजै कटाएर गोल गरेका हुन्। कर्ण लिम्बुले खेलको इन्जुरी टाइममा गोल गर्दै टोलीलाई ३-० को स्थितिमा पुर्‍याए।
यस्तै सरस्वती युवा क्लबसँग ३-० ले हारेपछि विभागीय टोली एपिएफको रेलिगेसन बच्ने आशा झन कठिन बन्दै गएको छ। एपिएफले १२ खेलबाट १२ अंक जोडेर १३औं स्थानमा पुगेको छ।
एपिएफलाई सहजै हराएपछि सरस्वतीका प्रशिक्षक ध्रुव केसीले टोलीको शीर्ष आठमा पर्ने सम्भावना बढेको बताए। उनले भने, 'आजको जितबाट हामी रेलिगेसन क्षेत्रबाट सुरक्षित भयौं, अब टोलीको लक्ष्य शीर्ष एटभित्र पर्ने हो।'
सरस्वती १२ खेल खेल्दै ५ जित र २ बराबरीसहित १७ अंक जोडेर अंकतालिकाको १०औं स्थानमा पुग्यो। कुशल श्रेष्ठले ४३औं मिनेटमा सरस्वतीका लागि पहिलो गोल गरे। ओलावाले उसेमनको फ्रिकिकमा कुशलले पोस्ट नजिकैबाट हेड गोल गरेका हुन्। एक गोलले पछि परेपछि एपिएफ प्रशिक्षक जनक सिंहले रणनीति परिवर्तन गर्दै तीनलाई रक्षक, दुईलाई मिडफिल्ड र पाँच खेलाडीलाई अग्रपंक्तिमा उतारे। जनकको त्यो रणनीति सफल हुन सकेन। टोलीको रक्षापंक्तिको फाइदा उठाउँदै सरस्वतीका योना इलियसले एक्लो प्रयासमा ७७औं मिनेटमा अर्को गोेल गरे। उनले मैदानको मध्यभागबाट एक्लै बल अगाडि बढाएर उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई २-०को अग्रता दिलाए। ७९औं मिनेटमा ओलावाले पनि एपीएफको कमजोर डिफेन्सको फाइदा उठाउँदै एक्लो प्रयासमा गोल गरेरपछि एपिएफ निरीह सावित भएको थियो। शुक्रबार कुनै खेल छैन।

0 comments

Leave a Reply

Special Video