Media Partner

You Are Here: Home» समाचार » त्रिविलाई केन्द्रीय विश्वविद्यालय बनाउने सहमति

रुबी रौनियार, काठमाडौं, पुस २९- ५३ वर्षको इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयको रूपमा विकास गर्न सरकारले सैद्धान्तिक सहमति दिएको छ। परिषद्को बैठकले यसैसाता त्रिविलाई उत्कृष्ट अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित केन्द्रीय विश्वविद्यालय बनाउन सैद्धान्तिक सहमति दिएको हो। एक उच्चस्तरीय समिति गठन गरी कार्यान्वयनमा अघि बढ्ने तयारी भइरहेको शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति दीनानाथ शर्माले बताए।
शिक्षा मन्त्रालयले एक साताअघि मन्त्रिपरिषद्मा त्रिवि आर्थिक, भौतिक, शैक्षिक र जनशक्तिमै मुलुको सबैभन्दा ठूलो विश्वविद्यालय भएकाले नेतृत्वदायी भूमिका दिन राष्ट्रिय विश्वविद्यालय बनाउने प्रस्ताव गरेको थियो।
तर बुधबार सरकारले यसलाई केन्द्रीय विश्वविद्यालयको रूपमा स्थापना गर्न सहमति दिएको हो। ‘त्रिविलाई अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट अध्ययन तथा अध्यापन केन्द्रका रूपमा विकास गर्न शिक्षा मन्त्रालयले सरकारको निर्णयलाई मान्ने छ,' शिक्षामन्त्री शर्माले नागरिकसँग भने, ‘त्रिवि केन्द्रिय विश्वविद्यालय भएपछि अन्य विश्वविद्यालय क्षेत्रीय हुनेछन्।'
अहिले मुलुकमा त्रिवि, पूर्वाञ्चल, पोखरा, नेपाल संस्कृत, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, कृषि तथा वन, काठमाडौं र बौद्ध विश्वविद्यालय सञ्चालनमा छन्।
शर्माका अनुसार केन्द्रीय भएपछि त्रिविप्रति राज्यको दायित्व बढ्नेछ। ‘अब त्रिविको भूमिका अभिभावकको हुने भएकाले नयाँ बनेका मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालय सञ्चालनार्थ आफ्ना आंगिक क्याम्पसहरू हस्तान्तरण गर्ने कार्यसमेत अघि बढाउँछ,' त्रिवि विश्वकै ठूला विश्वविद्यालयमध्ये एक भएको दाबी गर्दै उनले भने, ‘अब शिक्षक, कर्मचारी र विद्यार्थीको बढ्दो राजनीतिक हस्तक्षेप पूर्णरूपमा हट्ने छ।'
केन्द्रीय विश्वविद्यालयमा रूपान्तरण भएपछि त्रिविलाई स्वदेशी तथा विदेशी विद्धान्हरूको अध्ययन अध्यापन र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ। ‘थप कामकारबाही र भूमिका निर्धारण गर्न मन्त्रालयले साताभित्र उच्चस्तरीय समिति गठन गरी काम अघि बढाउनेछ,' मन्त्री शर्माले भने।
त्रिविलाई राष्ट्रिय विश्वविद्यालयको रूपमा विकास गर्न प्राध्यापक तथा कर्मचारीले ५० वर्षदेखि गरिरहेको माग सरकारले सम्बोधन गरेको भन्दै त्रिविका उपकुलपति हिराबहादुर महर्जनले खुसी व्यक्त गरे। ‘प्रधानमन्त्री एवं कुलपति बाबुराम भट्टराईले त्रिविको सभामै केन्द्रिय विश्वविद्यालय स्थापना गर्न निर्देशन भएअनुसार त्रिवि अघि बढेको हो,' उनले भने, ‘हामीले राष्ट्रियको प्रस्ताव गरे पनि मन्त्रिपरिषद् केन्द्रिय विश्वविद्यालयको सहमति दियो।' ऐन परिवर्तन गर्न त्रिविले गृहकार्यअघि बढाएको उनले जनाए।
त्रिविअन्तर्गत मुलुकभर ६० आंगिक क्याम्स र आठ सय ३२ सम्बन्धन प्राप्त क्याम्पस छन्। तिनमा एक लाख ६० हजार विद्यार्थी पढिरहेको त्रिविले जनाएको छ।
त्रिविलाई केन्द्रीय विश्वविद्यालयका रूपमा विकास गर्ने निर्णयलाई शिक्षाविद्हरूले उच्च शिक्षा सुधारमा सरकारको सकारात्मक पहल भनेका छन्।
भारत, बंगलादेश, कोरिया, चीनलगायत देशमा केन्द्रीय विश्वविद्यालयको अवधारणाले नै शैक्षिक क्षेत्रले ठूलो फड्को मारेको उदाहरण दिँदै शिक्षाविद् केदारभक्त माथेमाले सरकारी कदमले त्रिविमा बढ्दो राजनीतिक हस्तक्षेप हटाउने विश्वास व्यक्त गरे। ‘त्रिविलाई केन्द्रीय विश्वविद्यालय बनाएपछि यसले अनुसन्धानमा आधारित अध्ययन-अध्यापनमा जोड दिन्छ,' उनले भने, ‘हाल टिचिङ क्याम्पसका रूपमा रहेको त्रिवि अब उत्कृष्ट अनुसन्धान केन्द्र बन्न सक्छ।'
केन्द्रीय विश्वविद्याय भएपछि सरकार र त्रिवि दुवैको दायित्व बढ्ने, शैक्षिक, प्रशासनिक र आर्थिक पक्षमा सुधार भई अन्तर्राष्ट्रिय स्तरमै समेत मान्यता पाउन थप सहयोग मिल्ने उनको विश्वास छ।

0 comments

Leave a Reply

Special Video