Media Partner

You Are Here: Home» समाचार » अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक

सन्तोष पोखरेल, पोखरा, पुस २८- साहसिक पदयात्राका लागि प्रख्यात अन्नपूर्ण क्षेत्रमा अहिलेसम्म कै बढी विदेशी पर्यटक आएका छन्। यो क्षेत्रमा सन् २०१२ मा एक लाख ४ हजार ३ सय ६२ विदेशीले भ्रमण गरे। यो अहिलेसम्मकै सबैभन्दा बढि संख्या हो। तर, अघिल्ला वर्षको वृद्धिदर भने घटेको छ।
अघिल्लो वर्षभन्दा यो वर्ष ५ हजार बढि विदेशी पर्यटक आएको टे्रकिङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ। एक्यापकाअनुसार सन् २०११ मा जम्मा ९९ हजार २ सय ९६ जना विदेशी पर्यटक त्यस क्षेत्रमा गएका थिए। २०१० मा यो संख्या ८८ हजार ४ सय १८ थियो।
अघिल्लो वर्षको तुलनामा यो वर्ष पाँच प्रतिशत थप विदेशी पदयात्रामा गए, एक्यापका पर्यटन अधिकृत नरेन्द्र लामाले भने। 'सन् २०१० को तुलनामा २०११ मा अन्नपूर्ण क्षेत्रमा टे्रकिङ जाने विदेशी पर्यटक करिब १२ प्रतिशत बढी थिए। २०११ को तुलनामा ०१२ मा भने ५ प्रतिशत मात्र थपिए' लामाले भने, 'संख्यात्मक रुपमा पर्यटक बढे पनि वृद्धिदर भने घटेको छ।'
अन्नपूर्ण क्षेत्रको अधिकांश खण्डमा मोटर पुगेसँगै पदयात्रा अवधि छोटिदै गएकाले यस क्षेत्रमा टे्रकिङ जाने विदेशी पर्यटकको वृद्धिदर कम हुन थालेको उनले बताए। मोटर चलेसँगै प्रख्यात अन्नपूर्ण 'सर्किट' को पदयात्रा अवधि आधा समयमा झरेको उनले बताए। 'पहिला-पहिला अन्नपूर्ण फेरोको पदयात्रा अवधि २१ दिनको हो, तर अहिले दश दिनमा पुरा हुन्छ' उनले भने, 'लामो समयको पदयात्रा रुचाउने पर्यटकले अन्नपूर्ण फेरोको सट्टा विकल्प खोज्न थालेका छन्।'
मोटरबाटोले पदयात्रामा गएका पर्यटकले दुर्गन्ध र धँुवा धुलोको सामना गर्नुपरेको उनले बताए। अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटक आगमन बढाउने हो भने वैकल्पिक टे्रकिङ रुट बिस्तार गर्नु जरुरी रहेको पर्यटन अधिकृत लामाले बताए। 'अहिले मोटरबाटो र टे्रकिङ रुट सँगसँगै छन्, तर, अब टे्रकिङ रुटलाई विकल्प दिनुपर्छ' उनले भने, 'त्यसो भयो भने मात्र त्यस क्षेत्रमा थप विदेशी पर्यटकको आकर्षण बढाउन सकिन्छ।' अन्नपूर्ण क्षेत्रका अन्य सम्भावित टे्रकिङ रुटलाई पनि प्रवर्द्धन गर्नु जरुरी रहेको लामाले बताए।
पर्यटन व्यवसायीले अन्नपूर्ण क्षेत्रको पदयामात्रा जाने विदेशी पर्यटकको वृद्धिदर घट्नुमा मोटरबाटो नै मुख्य कारक रहेको बताउँछन्। अघिल्लो वर्षको तुलनामा संख्यात्मक रुपमा वृद्धि भए पनि यो सन्तोषजनक नरहेको उनीहरुको भनाई छ। 'अघिल्लो वर्ष भन्दा संख्यात्मक रुपमा बढेका छन्, तर वृद्धिदर घटेको छ' टे्रकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पोखरा च्याप्टरका अध्यक्ष नारायण सापकोटाले भने, 'मोटरबाटो पुगेसँगै पर्यटकको पदयात्रा अवधि छोटिदै गएकाले समस्या परेको हो।'
अन्नपूर्ण क्षेत्रका अधिकांश टे्रकिङ रुटमा मोटरबाटो पुगेकोले अव टे्रकिङ जाने विदेशी पर्यटकका लागि वैकल्पिक रुट खोज्नुपर्ने टान अध्यक्ष सापकोटाले बताए। 'अहिले संचालनमा रहेका रुटको सट्टा अन्य रुट पनि प्रवर्द्धन गर्नुपर्छ' उनले भने, 'त्यसका लागि सबैको पहल जरुरी छ।' कतिपय विदेशी पर्यटक अहिले अन्नपूर्ण क्षेत्रको सट्टा अन्य रुटमा पनि पदयात्रामा जान थालेकोले वृद्धिदर कम हुन थालेको उनले बताए।
अध्यक्ष सापकोटाका अनुसार अहिले कतिपय विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रको सट्टा रोयल, पञ्चासे, मिलेनियम लगायतका प्रवेश शुल्क नलाग्ने रुटमा टे्रकिङ जान थालेका छन्। अन्नपूर्ण बाहेकको क्षेत्रमा पदयात्रा शुल्क नलाग्ने भएकोले पनि कतिपय विदेशी अन्यत्र मोडिएको उनले बताए। अन्नपूर्ण क्षेत्रमा पदयात्रा जाँदा विदेशी पर्यटकले प्रतिव्यक्ति २ हजार रुपैयाँ एक्याप परमिट शुल्क सहित टिम्सचार्ज बुझाउनुपर्छ। टिम्स शुल्क बापत व्यक्तिगत रुपमा जानेले प्रतिव्यक्ति २० अमेरिकी डलर र समुहमा जानेले प्रतिव्यक्ति दश डलर तिर्नुपर्छ। समुहमा जाने पर्यटकले अनिवार्य रुपमा नेपाली गाइड वा भरिया साथमा लैजानुपर्छ। 'शुल्क तिर्न नचाहने पर्यटक अहिले अन्नपूर्ण बाहेकको क्षेत्रमा जान थालेको सापकोटाले जानकारी दिए।

0 comments

Leave a Reply

Special Video