Media Partner

You Are Here: Home» समाचार » एक गायकको संगीत चिन्तन : संगीतको संसार .

E-mailPrint
धीरज राई - 'लुकी लुकी' गीतबाट शुरु मेरो पप यात्राले दुई दशक नाघ्यो। मेरा गीतको शब्द रचना र संगीत प्रायः आफैं गर्छु। गीत लेखनको मूल्यांकन गर्ने जिम्मा स्रोतालाई। लक्षित स्रोता तथा दर्शकमा भावना प्रवाह गर्न भने म सक्षम छु जस्तो लाग्छ। दुई दर्जनभन्दा बढी हिट गीतको लिस्ट मसँग छ। कम्पोज गर्नुअघि विषय छनोट गर्नुपर्छ। फिल्म मेरा लागि विषयका स्रोत हुन्। प्रेम, विछोड पनि थिम नहुने होइनन्। सम्पत्ति अभावले प्रेमी वा प्रेमिकाले धोका दिएको अवस्था एकातिर छ। गाँठ नभएको केटीसँग बिहे गरिँदैन भन्ने अर्कातिर छन्। जात नमिल्दा जोडी टुटेका छन्। अर्को राम्रो 'उम्मेदवार' को उपस्थितिले मायाको फूल फक्रन नपाई ओइली झरेका पनि छन्।
फिल्ममा यस्ता घटना छानी छानी पाइने हुनाले प्रायः म तिनैबाट उतार्ने गर्छु जसले गर्दा विषय छान्दा टाउको दुखाइ कम हुन्छ। प्याटि्रयाक् स्वायज र डेमी मुर अभिनीत फिल्म 'गोस्ट' यस्तै एक हो।
फिल्म सुरु भएको केही बेरमै नायकको हत्या हुन्छ। आफ्नो शव प्रेमिकाको काखमा देखेपछि छक्क पर्दै आफू 'आत्मा' मात्रै रहेको नायकले थाहा पाउँछ। प्रेमिका पाउने लोभमा उसकै बेस्ट फ्रेन्डले उसको हत्या गरेको हुन्छ। अन्त्यमा 'आत्मा नायक'ले खलपात्रको नाश गर्छ। तर, उसलाई आत्माको अस्तित्व रहेको विश्वास नायिकालाई दिलाउन गाह्रो पर्छ। फिल्मको मज्जा नै यहीँ छ। अन्त्यतिर नायकले नायिकाको आँशुलाई आंैलाले टपक्कै टिपेर आँखा अगाडि राखेपछि नायिकाले विश्वास गर्छिन्। त्यसपछि नायकको आत्माले शान्ति पाउँछ।
यस फिल्मले मलाई भित्रैदेखि छोयो र भावुक बनायो। उकुसमुकुस भएर छटपटी भयो। सँगैको साथीले यसलाई सहज रूपमा एउटा फिल्म हेरेको अनुभव गर्यो।। मलाई भने औडाहा। फिल्मको घटना ममा नै भएजस्तो लाग्यो। मित्रले यति सहज रूपमा लिएको फिल्मलाई मैले किन स्वभाविक मान्न सकिनँ? यो फिल्मले मलाई किन यति गम्भीर बनायो? यहीं आएर कलाकार र अन्य व्यक्तिबीच फरक पर्दो रहेछ।
कलाकारमा संवेदनशीलताको पारो निकै गुणा बढी हुने। त्यसै रात मैले एउटा गीत लेखें र कम्पोज गरंे जुन गीत अहिले मेरो सदाबहार गीतमध्ये पर्छ। त्यसलाई मैले साँच्चै नै हृदयबाट गाएको छु।
तिम्रा नयन तिम्रा अधर छोडेर
सक्दिनँ जान टाढा तिमीलाई भुलेर
बच्चु कैलाशका अत्यन्त भावुक अनि कारुणिक गीतको ठुलै 'कलेक्सन्' मैले मोबाइलमा राखेको छु। एक्लै हुँदा वा जमघटमा यस्तै गीत बजाउँछु। त्यस्ता गीत मेरो 'स्टार इमेज' भन्दा बिल्कुल फरक छन्। कहिलेकाहीँ साथीहरू दिक्क मान्छन् तर म बजाउन छाड्दिनँ। भावुक गीतले दिने जस्तो आत्मसन्तुष्टि अरुले दिदैन। विचार गर्ने हो भने साँच्चै बच्चु कैलाशका धुन 'शोक धुन' जस्तै विरही छन्। मलाई ती अत्यन्त मन पर्छन्।
२० वर्षको संगीत यात्रापछि अहिले बुझ्दै छु। मसँग चञ्चलता जति छ, त्यत्ति नै भावुकता अनि संवेदशीलता पनि रहेछ। साथीहरूले गाली गर्छन् र म पनि 'अब चाहिँ यो बानी हटाउँ' भन्छु तर एउटा सानो कुराले मात्र पनि मन खायो भने खाएको खायै हुन्छ।
'गीत किन गाउनु हुन्छ धिरज सर?' कलेजमा पढाउँदै गर्दा एक विद्यार्थीले सोध्यो। त्यसपछि मैले आफैंलाई सोही प्रश्न गरें। 'साँच्चै म किन गाउँछु?'
सिग्मन्ड फ्रायडले भने झैं मेरा लागि गीतसंगीतले जीवनमा अहम् भूमिका खेलेको छ। चेतनाका तीन चरण 'कन्सस माइन्ड' 'सब-कन्सस माइन्ड' र 'अन्कन्सस माइन्ड' मध्ये अतृप्त इच्छाआकांक्षा तेस्रोमा गएर थुप्रिने गर्छन् जसले जहिले पनि निकास खोजिरहेको हुन्छ। तहतह भई खाँदिएर थुप्रिएका यस्ता अतृप्त इच्छा र चाहना सिर्जनामार्फत् बाहिरिने गर्छन्। मैले गीत लेख्दा, गाउँदा यही महसुस गरें।
मदिराको नशा त मलाई थाहा छैन तर यति चाहिँ भन्न सक्छु, यौन आनन्दको विकल्प मेरा लागि गीतसंगीत मात्र हुन सक्छ। यसले मलाई चरम आनन्द महसुस गराउँछ र चरमोत्कर्षमा पुर्या उँछ। यौनिक आनन्द क्षणिक हुन्छ भने गीत संगीतबाट पाइने आनन्द अनन्त। यस अर्थमा यो एक कदम अगाडि छ।
गीत गाउन पाएँ भने रात-रात भर नरोकिई गाइदिन सक्छु। भलै बिहान रक्सीको 'ह्याङओभर' झैं मेरो टाउको र घाँटी दुख्छ। यसले मलाई पूरै रिफ्रेस् गराउछ। बिस्तारै लतमा परिणत हुदै जान्छ। पछिपछि त नभई हुँदैन। यस्तै हुँदो रहेछ संगीतको नशा।
'फलाना गायक त अत्यन्त मुडी छ।'
'कहिलेकाहिँ त मलाई ऊ साइको जस्तो लाग्छ।'
'फलाना संगीतकार त कस्तो एकोहोरो छ।'
यस्ता अभिव्यक्ति संगीतकार, गायक, गीतकार वा एरेन्जरका लागि प्रयोग गरिन्छन्। झट्ट हेर्दा कहिलेकाहीँ अव्यावहारिक, असामाजिक लाग्न पनि सक्छन्। जब ऊ सिर्जना गर्न थाल्छ, उसलाई देख्नेलाई बोर भइरहेको, एकोहोरिएको वा छट्पटाइरहेको भान हुन सक्छ। वास्तविकता त्यस्तो हुँदैन। ऊ तपस्यामा लीन हुन्छ जुन एक किसिमको मेडिटेसन हो। अन्त्यमा उसले निर्वाण प्राप्त गर्छ। यसले चरम सुख अनुभूत गराउँछ। यही नै आएर स्पष्ट रुपमा बेग्लाबेग्लै दुई संसारको निर्माण हुन पुग्छ।
'रियल वर्ल्ड' अर्थात् भौतिक संसारमा घटनाद्वारा हामी निर्देशित हुन्छौं। भनौं- घटनाहरूले हामीलाई निर्देशन गर्छन्। जीवनयापनका लागि रोजीरोटीको खोजी गर्नु हाम्रो कर्तव्य हो। मन लागोस् वा नलागोस्, हाकिमको चाकरी गर्नु कर्मचारीको बाध्यता हो। भिन्न मत भएको अवस्थामा पार्टीको अन्धभक्त हुनु कार्यकर्ताको विवशता हो। छोराछोरीको पालन पोषणको क्रममा कैयौंपटक आत्मसम्मानमा ठेस लाग्ने गरेको छ। बहाल तिर्न ढिलो हुँदा घरबेटीसामू ङिच्च दाँत चिहाउनु वा उधारो तिर्न नसकेर पसलबाट लुकी-लुकी हिँड्नु कसैको रहर हुदैन। यी र यस्ता धेरै तनाव र कर्तव्यबीच हामी थुप्रै गुजि्ररहेका हुन्छौं। चाहेर पनि आफूले भनेजस्तो हुदैन। ठीक उल्टो- कलाको संसारमा त्यो सबै सम्भव हुन्छ जो एक कलाकारले चाहन्छ।
एउटा पेन्टरको उदाहरण नै लिउँ्क। खाली पानामा उ बादल बनाउन शुरु गर्छ जसमा परेवाहरू स्वच्छन्द उडिरहेका छन्। बादल पनि कति सेता ... कपासको भुवा जस्तै, खरायोको रौं जस्तै। उत्तरतिर हेर्छ। 'यहाँ हिमाल भइदिएको भए कति सुहाउँथ्यो होला' ... माछापुच्छे्र उसको सबै भन्दा 'फेबरेट' हो। हेदाहेर्दै आँखाअगाडि माछापुच्छे्र देखापर्छ। अब खाँचो भयो नदीको। सुन्दरीको बारुली कम्मर झंै सुसाउदै लच्केर बग्ने इन्द्रावतीलाई उसले छान्छ। र, त्यसलाई पोतिदिन्छ। एक अन्जुली पानी लिन्छ। कलकल... 'आहा... कति स्वादिलो!' हरियो घाँसेमैदानमा रातो कालो अनि टाटेपाङ्ग्रे घोडाहरू बिन्दास दौडिरहेका छन्। चराको चिरबिर अनि मन्दमन्द हावाले शीतलता प्रदान गरेको छ। ऊ अघाइन्जेल त्यहाँ बस्छ। केही बेरपछि उसलाई महसुस हुन्छ र ऊ फर्कन्छ। एउटा सुन्दर 'पेन्टिङ' तयार भयो।
लगभग गीत कम्पोज गर्दाको अवस्था पनि यस्तै हुन्छ। 'आर्टिस्टिक वर्ल्ड'मा गएर सिर्जना तयार गरी 'रियल वर्ल्ड'मा ल्याउँछ। बिडम्बना के छ भने 'आर्टिस्टिक वर्ल्ड' अमूर्त हुन्छ जसलाई छुन हेर्न वा देख्न सकिँदैन, केवल महसुस मात्र गर्न सकिन्छ।
'पोलिटिक्स इज् अ डर्टी गेम्' कतिले भन्ने गरेका छन्। धेरै गायक साथी पनि यसो भन्छन्। वास्तवमा राजनीति र कलाकारिता ठिक विपरित छन्, चुम्बकका दुई ध्रुवहरू झै। 'तर्क' र 'कारण' ले राजनीति अगाडि बढ्छ भने भावना र संवेदनशीलताले कलाकार बढी चल्छन्। निर्दोषपन, पारदर्शीता र निश्चलता जति हुन्छ त्यति नै कलाकारिता सशक्त। राजनीतिले सधैं लिन मात्र खोज्छ भने कलाको प्रकृति दिनेखालको हुन्छ।
प्रत्येक चोटी गीत कम्पोज गर्दा म 'म' रहँदिन, गीतको पात्र बन्न पुग्छु। पात्र जति भावनामा डुब्न सक्छ, त्यति नै राम्रो धुन तयार हुन्छ। यो एक किसिमको कष्टपूर्ण 'मेडिटेसन' हो। पीडाको गीत लेख्दा पीडाकै महसुस हुन्छ। खुशीको गीत लेख्दा मन त्यसै त्यसै फुरुंग हुन्छ। कहिलेकाहिँ कौसीमा निक्लेर बेतुकले एक्लै नाच्दै गाउँदै हिँडेको देख्दा छिमेकी छक्क पर्छन्। तर धुन फुर्दै गर्दा बीचमै टुटेको बेला धेरैचोटी मैले झगडा गरेको छु। किनकी त्यो माहौल फर्काउन फेरी गहिराइमा पुग्नुपर्छ। एउटा साँचो कलाकार व्यापारी वा नेता हुन सक्दैन। तर त्यो 'पन' बिना उसको प्रतिभा एक्सपोज हुन पाउँदैन।
राजनीतिले कलाकारितालाई सजिलै दुरुपयोग गरिदिन सक्छ। राजनीति सफल पार्न कलाकार प्रयोग भएको त हामीले देखेकै छौं। विदेशमा प्रत्येक पपगायक वा ब्यान्डका निजी सल्लाहकार हुन्छन् जसले बजार व्यवस्थापनदेखि कन्सर्ट सम्मको जिम्मा लिएको हुन्छ। हाम्रोमा सम्भव छैन। त्यसैले मैले भन्ने गरेको छु, 'गाउनु कला हो तर त्यसलाई ठाउँसम्म पुर्यातउने कला अर्कै हो। त्यसैले गायकले पनि राजनीति बुझ्न अनि सिक्न जरुरी छ ताकि कलाको मूल्यांकन गलत र अनुचित ढंगले नहोस्।'

0 comments

Leave a Reply

Special Video